काठमाडौं— श्रीलंकाको भूमिगत गिरोहका सदस्यहरू काठमाडौंमा पक्राउ परेका छन्। उनीहरुलाई आजै डिपोर्ट गर्ने प्रहरीको तयारी छ। 

श्रीलंकाको अदालत परिसरमै भूमिगत गिरोह अन्डरवर्ल्डका नाइके सञ्जीवा कुमारा समारारत्ने (गणेमुल्ला सञ्जीवा) हत्याका आरोपी नेपालमा लुकेर बस्दै आएको भेटिएको हो। 

नेपाल प्रहरीसँग समन्वय गरिएको विशेष अपरेसनमा गणेमुल्लाका हत्यामा संलग्न ६ जना अभियुक्त काठमाडौंमा पक्राउ परेपछि उनीहरू काठमाडौं र भक्तपुरमा सेल्टर लिएर बस्दै आएको खुलेको हो।

प्रहरी उच्च स्रोतका अनुसार, पक्राउ पर्नेमा श्रीलंकाको मिनुवनगोडा बस्ने इसारा सेउबन्दी (२६), जीवथासन कनाकरासा (३३), ठाक्सी नन्थाकुमार (२३), दिनेश श्यामन्था दि सिल्भा (४९), केनेडी बस्टिम्पिल्ले (३५) र दिनेश निसन्था कुमारा विक्रम आचिर्च्चगे (४३) छन्। 

उनीहरूमध्ये इसारा सेउबन्दी ७ फागुन २०८० मा कोलम्बोको हल्फ्सडोर्प अदालत परिसरको मजिस्ट्रेट कोर्टमा भएको सञ्जीवा हत्या प्रकरणकी मुख्य अभियुक्त हुन्। 

उनीविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा समेत रेड नोटिस जारी थियो।  पक्राउ परेका मध्ये सबै श्रीलंकाको कुख्यात नाइके एवं लागूऔषध तस्कर केहेलबड्डरा पद्ये समूहको भएको प्रहरीको भनाइ छ।

उनले मलेसिया र दुबईबाट संगठित अपराधको र्‍याकेट चलाउँदै आएका थिए। उनीविरुद्ध पनि इन्टरपोलमा रेड नोटिस जारी थियो र २५ अगस्टमा इन्डोनेसियाबाट पक्राउ परेका थिए। सञ्जीवाको हत्याको मुख्य योजनाकारचाहिँ पद्ये नै भएको श्रीलंकन प्रहरीले बताउँदै आएको स्थानीय समाचार संस्थाहरूले समेत उल्लेख गरेका छन्।