काठमाडौं— हमासबाट मारिएका नेपाली युवा विपिन जोशीको शव सैनिक अस्पतालमा राखिएको छ ।

अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (आईसीआरसी)ले इजरायली सेनालाई जिम्मा लगाएसँगै विपिनको शव डिएनए परीक्षणका लागि सैनिक अस्पतालमा राखिएको हो ।

डिएनए रिपोर्ट लगायतका प्रक्रिया पूरा गरेपछि मात्र शव नेपाल पठाउने प्रक्रिया सुरु हुने इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।

राजदूत धनप्रसाद पण्डितका अनुसार विपिनको शव पहिचान भएपश्चात इजरायल सरकारले नै कफिनमा बन्द गरेर उनको शव नेपाल पठाइदिने छ । त्यसका लागि अझै केही दिन लाग्ने अनुमान गरिएको छ ।

अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए ।

सो आक्रमणको क्रममा १० जना नेपाली विद्यार्थीहरु मारिएका थिए भने हमास लडाकुहरुले विपिनलाई आफूसँगै लिएर गएका थिए । त्यसयता उनको अवस्था अज्ञात थियो । इजरायल र हमासबीच युद्धविराम भएपछि मंगलबार मात्रै हमासले विपिनको शव हस्तान्तरण गरेको थियो ।