काठमाडौं—  ठूला परिमाणको नगदसहित पक्राउ परेका कुसाङ लामा केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका छन्। ट्रक चालक रहेका लामा गत भदौ २४ गते कारागारबाट भागेको खुलेको हो।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ स्थायी घर भएका लामालाई टोखाबाट झण्डै २५ करोड रुपैयाँसहित पक्राउ गरिएको थियो। तर उनी 'जेन-जी आन्दोलन' को दोस्रो दिनको भीडभाडको समयमा सुन्धारास्थित केन्द्रीय कारागारबाट भाग्न सफल भएका थिए।

यसअघि सोही कारागारबाट भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझी पनि फरार भएका थिए। तर, केही समयपछि रायमाझीलाई पुनः नियन्त्रणमा लिइएको थियो। कुसाङ लामा भने एक महिनाभन्दा बढी समय बितिसक्दासमेत अझै फेला परेका छैनन्।

यस घटनापछि कारागार व्यवस्थापनमा गम्भीर त्रुटि देखिएको भन्दै आलोचना हुन थालेको छ। फरार अभियुक्तहरूलाई पुनः नियन्त्रणमा लिन तथा कारागार सुरक्षालाई सुदृढ गर्न प्रहरी प्रशासनले सरकारसँग कडा कानुनी व्यवस्था गर्न अध्यादेशमार्फत कानुन संशोधनको तयारी भइरहेको चर्चा छ।