काठमाडौं— त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भन्सार क्षेत्रबाट करिब ११ किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ परेकाहरूमा भारतको विभिन्न स्थानका ५० वर्षीय सलिम इब्राहिम अन्सारी, २४ वर्षीय रेहान मोहम्मद अजाज शेख, र ३२ वर्षीया जैनब वशीर रहेका छन्।
प्रहरी नायब महानिरीक्षक एवं केन्द्रीय प्रहरी प्रवक्ता विनोद घिमिरेका अनुसार ती तीनै जना एयर एसियाको फ्लाइटमार्फत बैंककबाट काठमाडौं आएका थिए। विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा उनीहरूबाट करिब ११ किलो २७५ ग्राम गाँजा फेला परेको हो।
हाल पक्राउ परेका उनीहरूलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि लागूऔषध नियन्त्रण ब्यूरोमा पठाइएको प्रहरी प्रवक्ता घिमिरेले जानकारी दिएका छन्।






































