काठमाडौं— देशभर फैलिएको भ्रष्टाचार र अनियमितताविरुद्ध नयाँ सरकारले सुशासनको नारा दिँदै सुधारका कदम चालिरहेको बेला अख्तियारको छानबिनमा रहेका एक विवादास्पद कर्मचारीलाई पुनः पदस्थापन गर्ने तयारी सुरु भएको छ। मालपोत कार्यालय कास्कीका पूर्वप्रमुख चिरञ्जिवी पौडेललाई पुनः सोही कार्यालयमा सरुवा गर्न प्रशासनिक चलखेल चलिरहेको खुलेको छ।
पौडेलमाथि मालपोत प्रमुख बन्नका लागि ७० लाख रुपैयाँ घुस दिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ। यसअघि यही प्रकरणका कारण उनी कास्कीबाट काठमाडौं तानिएका थिए।
तर अहिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका केही अधिकारीहरूको सक्रियतामा उनलाई पुनः कास्की फिर्ता पठाउने प्रयास भइरहेको स्रोतले जनाएको छ। मन्त्रालयका सहसचिव मदन कोइराला र उपसचिव कृष्ण भण्डारीको मिलेमतोमा सरुवाको पत्र तयार गर्ने तयारी गरिएको हो।
मन्त्रालयका सचिव केदारनाथ शर्मा भने पौडेललाई कास्की पठाउने पक्षमा छैनन्। घुस प्रकरण सार्वजनिक भएपछि पौडेललाई हटाउने निर्णयमा उनी स्वयं सक्रिय थिए। तर हाल कास्कीका केही शक्तिशाली दलाल र भूमाफियाको दबाबमा पौडेललाई पुनः त्यही पदमा पठाउने योजना अघि बढाइएको छ।
पौडेललाई कास्की पुर्याउन अडियो टेपहरूमा नाम जोडिएका पूर्वनासु दीपक सुवेदीको पनि संलग्नता रहेको बताइएको छ। सुवेदीमाथि पनि अख्तियारले अनुसन्धान गरिरहेको छ। सुवेदीसँगै स्थानीय जग्गा व्यवसायी प्रकाश दाहाल, देव मल्ल र आर.एन. शर्माको समेत संलग्नता देखिएको स्रोतको दाबी छ।
लिचीबारी घुस प्रकरणमा पीडितसँग रकम र टिकट लिएको अभियोग लागेका पौडेललाई फेरि कास्की फर्काउने तयारीले सरकारको सुशासनको प्रतिबद्धता र अख्तियारको प्रभावकारितामाथि नै गम्भीर प्रश्न उठाएको छ।