धनकुटा— धनकुटा नगरपालिका–९ स्थित पाँच गोलाईमा मिनि ट्रक दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन्।

प्र. ३–०१–००३क ६९०६ नम्बरको ट्रक आइतबार राति करिब २ बजे धनकुटाबाट मुलघाटतर्फ जाँदै गर्दा सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ट्रक चालक उदयपुरगढी गाउँपालिका–५ का २६ वर्षीय नारायण खड्का र सहचालक रानीटार, उदयपुरका २० वर्षीय दिनेश कार्की गम्भीर घाइते भएका छन्। घाइते दुबै जनाको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको प्रहरीको भनाइ छ ।

घटनापछि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन बेस मुलघाट र नेपाल प्रहरीको टोलीले घाइतेको उद्धार गरेका थिए।