काठमाडौं— पूर्वसभामुख कृष्णबहादुर महरा भन्सार ऐन, २०६४ र संगठित अपराध सम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का अनुसार उनलाई आइतबार पक्राउ गरिएको हो।
(सिआइबी) का सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले महरा भेप (इलेक्ट्रोनिक सिगरेट) प्रकरणमा संगठित अपराधमा संलग्न रहेको प्रारम्भिक प्रमाणका आधारमा पक्राउ गरिएको जानकारी दिएका छन्।
२०७९ मंसिर १० गते दुबईबाट नेपाल आएका चिनियाँ नागरिक एलआइ हेङसोङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ७३० थान ई(सिगरेट भेप अवैध रूपमा भित्र्याउने प्रयास गरेका थिए। ती सामग्री भन्सारमा जफत गरिएर स्टोरमा राखिएको थियो। तर, भन्सार कार्यालयका नायब सुब्बा रेवन्त खड्काले ती सामग्री स्टोरबाट गायब पारेर सुनसहितको भेप बिक्री गर्ने आपराधिक गिरोहमा संलग्न भएको प्रहरीको दाबी छ।
उक्त भेपमा अन्दाजी ८ करोड ५५ लाख रुपैयाँभन्दा बढी मूल्यको सुन रहेको देखिएको छ।
महरा उक्त गिरोहमा संलग्न रहेको र संगठित रूपमा आपराधिक लाभ उठाएको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको सिआइबीले जनाएको छ। उनी यसअघि पनि अनुसन्धानको दायरामा परेपनि सत्ता र प्रभाव प्रयोग गरी अनुसन्धानलाई प्रभावित पार्दै आएका थिए।
महरालाई नियन्त्रणमा लिइ थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।