बारा— बाराको सिम्रौनगढ नगरपालिका–६ पानीटंकी नजिक माटोको ढिस्को खस्दा दुई जनाको ज्यान गएको छ भने छ जना घाइते भएका छन्। शनिवार बिहान छठ पर्वका लागि घर लिपपोत गर्न माटो खन्ने क्रममा अचानक ढिस्को खस्दा सो घटना भएको हो।
ज्यान गुमाउनेमा सिम्रौनगढ–६ सानो इटवालकी ७० वर्षीया शारदादेवी महतो र १५ वर्षीय सुनिल महतो रहेका छन्। घाइते अवस्थामै उनीहरूलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
प्रहरीका अनुसार घटनामा १४ वर्षीय साजन महतो, १५ वर्षीय नितेश महतो, १८ वर्षीय गौतम मुखिया, १४ वर्षीया रानीकुमारी महतो, १४ वर्षीया सुशीलाकुमारी महतो र १५ वर्षीय राजाबाबु शर्मा घाइते भएका छन्। उनीहरूको सिम्रौनगढ र कलैयास्थित विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) विजयराज पण्डितका अनुसार सबै घाइतेहरूको अवस्था अहिले सामान्य रहेको छ।
उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीहरूले सहकार्य गरेका थिए।