काठमाडौं— सहकारीका बचतकर्ताको अर्बौ रकम ठगी गरेका बागलुङको ढोरपाटनका मेयर देवकुमार नेपालीविरुद्ध गत वर्ष जेठमै सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउने तयारी थियो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय बागलुङमा पेस पनि गरिसकेको थियो । तर, गत वर्ष असारमा सरकार ढल्यो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेसँगै प्रतिवेदन एक वर्ष थन्कियो। बागलुङ र पोखरामा सहकारी ठगी गरेर भारत पसेका नेपालीविरुद्ध यसअघि सहकारी ठगीको मात्र मुद्दा थियो। तर, सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउदा मेयर पदबाट पनि निलम्बनमा पर्ने अनि दोषी ठहर भएमा सक्रिय राजनीति पनि गर्न नपाउने भएपछि उनको मुद्दा एक वर्ष होल्ड गरियो। किनकी नेपाली एमालेबाट निर्वाचित मेयर हुन।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबाट ओली सरकार ढल्नुका साथै अन्तरिम सरकार बनेपछि अवस्था फेरिएको छ। इमेज बचत तथा ऋण सहकारी अध्यक्षसमेत रहेका नेपालीविरुद्ध बिहीबार मात्र जिल्ला अदालत बागलुङमा एक अर्ब ५८ करोड ९४ लाखको सम्पत्ति शुद्धीकरण मुद्दा चलेको हो ।
सरकारी वकिलको कार्यालयले नेपाली र उनकी पत्नी छेला तथा सहकारीका चित्रबहादुर भण्डारी, लालमति रोक्का, शक्ति किसान, डोरबहादुर परियार, सुनील नेपाली, लक्ष्मी सेन सुनार, रूपा विक, झगबहादुर शाही, अनिता बुढामगर, सुरेन्द्र बोहरा, सञ्जिता थापा, पुष्पा पाठक खत्री, दीपक पौडेल र सन्तोष नेपालीलाई प्रतिवादी बनाएको हो।
नेपालीले एक अर्ब ५९ करोड ९४ लाख ५५ हजार ३९१ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अभियोग छ। सोही रकमलाई बिगो कायम गरिएको छ। बिगोको दोब्बर जरिवाना र कसुरको मात्राअनुसार दुईदेखि १५ वर्षसम्म कैद सजायको माग दाबी छ भने सहकारीको ४० लाखको सेयर एक लाख २० हजार नगद र जग्गासमेत जफतको माग दाबी छ।
नेपालीकी पत्नी छेलालाई पनि ६ करोड ९८ लाख ८० हजार ७५२ रुपैयाँ बिगो कायम भएको छ। विभिन्न स्थानमा उनको नाममा रहेका जग्गा जफतसमेतको माग दाबी छ।
बढी ब्याज र सहज ऋणको आशामा सहकारीमा पैसा जम्मा गरेका एक हजार ५४३ बचतकर्ताको रकम अपचलन गरेको अभियोग छ। सहकारीमा कृत्रिम खाता खडा गरेर रकम स्थानान्तरण गरिएको थियो। नेपाली हाल पुर्पक्षका लागि बागलुङ कारागारमा छन्।