हेटौंडा— मकवानपुर प्रहरीले करिब ३४ लाख रुपैयाँ बराबरका भन्सार छलीका कपडा र प्रतिबन्धित पटकाजन्य पदार्थ बरामद गरेको छ। अवैध सामान बोकेको सवारीलाई हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटे क्षेत्रबाट शुक्रबार बिहान नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिरगंजबाट हेटौंडातर्फ आउँदै गरेको प्रदेश २-०३-००१ च ९०२३ नम्बरको गाडीमा चेकजाँच गर्दा करिब १४ लाख रुपैयाँ बराबरका भन्सार छलीका कपडा भेटिएका छन्।

त्यसैगरी सोही गाडीबाट झन्डै २० लाख रुपैयाँ बराबरका प्रतिबन्धित पटकाजन्य पदार्थ पनि बरामद गरिएको प्रहरीको भनाइ छ।

प्रहरीले गाडीमा सवार रहेका रौतहटको बृन्दावन नगरपालिका–९ का २० वर्षीय प्रदीप कुमार चौधरी र गरुडा नगरपालिका–४ का ३१ वर्षीय विजय साहलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ।

अवैध सामान ओसारपसारविरुद्ध प्रहरीको निगरानी र निगरानी अभियान निरन्तर चलिरहेको छ।