काठमाडौं— सरकारले खर्च कटौती गर्ने निर्णयसँगै पूर्वप्रधानमन्त्रीहरूका अतिरिक्त सुरक्षाकर्मी फिर्ता बोलाउने निर्णय गरेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पूर्वजनमुक्ति सेनाको सुरक्षा घेरामा बसेका छन्।
गृह मन्त्रालयको निर्णयअनुसार प्रचण्डका ३४ जना र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका २७ जना सुरक्षाकर्मी फिर्ता हुनेछन्। मन्त्रालयले यो निर्णय राज्यको ढुकुटीमा बोझ कम गर्न र मितव्ययिता कायम गर्न लिएको जनाएको छ।
सो निर्णयप्रति माओवादी केन्द्र र वाईसीएलले आपत्ति जनाएका छन्। माओवादी नेता तथा वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटा 'दीपशिखा' ले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै,'भोलिपल्टदेखि प्रचण्डलाई पूर्वजनमुक्ति सेना र वाईसीएलका सदस्यहरूले सुरक्षा दिइरहेका' बताएका छन्।
दीपशिखाले यो निर्णयलाई 'बदलाभावमा गरिएको सत्ता डण्डा' भन्दै आलोचना गरेका छन्। उनले पूर्वप्रधानमन्त्री प्रचण्डजस्ता नेताहरूलाई बृहत् शान्ति सम्झौताअनुसार विशेष सुरक्षा दिनुपर्ने दाबी गर्दै सरकारको कदम शान्ति प्रक्रियाविपरीत भएको बताएका छन्।






































