स्याङ्जा— पाँच वर्षदेखि फरार रहेका एक कैदीलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ। गल्याङ नगरपालिका–५ बसोबास गर्ने श्यामबहादुर थापालाई प्रहरीले वैदेशिक रोजगारसम्बन्धी मुद्दामा समातेको हो।

थापालाई २०७७ साउन १७ गते जिल्ला अदालतले चार दिन कैद र ११ लाख ५० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो। फैसला पछि उनी फरार भएका थिए। स्याङ्जा प्रहरीको निरन्तर खोजीपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी प्रसन्न राज चौधरीले जानकारी दिए।

प्रहरीका अनुसार अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन थापालाई पक्राउ गरिएको हो।

यसैबीच, कास्कीको पोखरा–१७ विरौटामा भएको सुन चोरीको घटनामा संलग्न २८ वर्षीया प्रतिमा सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ। फेदीखोला गाउँपालिका–५, बाँगेकी सुवेदीले उषा शर्माको घरबाट ३.५ तोलाको सिक्री र २ तोलाको बेरुवा औंठी चोरी गरेकी थिइन्।

घटना सार्वजनिक भएपछि गरिएको अनुसन्धानका क्रममा उनलाई पुतलीबजार नगरपालिका–१ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। सुवेदीले चोरी गरेको गरगहना पोखराकै एक स्थानमा लुकाएर राखेको र सोही ठाउँबाट प्रहरीले गहना बरामद गरेको हो।

हाल सुवेदीविरुद्ध चोरीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।