धादिङ— धादिङको गल्छी गाउँपालिका–७, भल्टारमा बस र टिपर एकआपसमा ठोक्किँदा ११ जना यात्रु घाइते भएका छन्। पृथ्वी लोकमार्गमा शुक्रबार बिहान करिब ९ बजे भएको उक्त दुर्घटनामा बसमा सवार यात्रुहरू घाइते भएका हुन्।

नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लुप. ०१–००१ ख ०७६६ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ना ८ ख २५९१ नम्बरको टिपर एकआपसमा ठोक्किएका थिए।

दुर्घटनापछि घाइतेहरूको उद्धार गरी स्मारिका फार्मेसी अस्पतालमा उपचारका लागि लगिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी प्रकाश दाहालले जानकारी दिए। उनका अनुसार घाइतेहरूको अवस्था सामान्य रहेका छन् ।

प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।