सिरहा— सशस्त्र प्रहरीले सिरहाको बलान खोलानजिकबाट २२० किलो लागूऔषध गाँजा बरामद गरेको छ। जिल्लाको भागवनपुर गाउँपालिका–२ अन्तर्गत कासघारी क्षेत्रमा लुकाएर राखिएको अवस्थामा उक्त गाँजा फेला परेको हो।

सशस्त्र प्रहरी बल गुल्म इनर्वाबाट खटिएको टोलीले गएराति गस्तीका क्रममा बलान खोलानजिकको झाडी क्षेत्रबाट नौवटा बोरामा लुकाइएको अवस्थामा गाँजा फेला पारेको सशस्त्र प्रहरी नायब उपरीक्षक नन्दराज राईले जानकारी दिए।

बरामद गरिएको गाँजा आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

अवैध लागूऔषध कारोबारविरुद्ध सशस्त्र प्रहरीको नियमित निगरानी र गस्ती कार्यक्रम अन्तर्गत पछिल्लो समय सीमावर्ती क्षेत्रमा यस्तो प्रकारको बरामद बढ्न थालेको देखिएको छ।