बाँके— बाँके प्रहरीले जुवाको अभियोगमा वरिष्ठ प्रहरी सहायक निरीक्षक (सई) सहित १४ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कर्णाली प्रदेश संघीय प्रहरी कार्यालयमा कार्यरत वरिष्ठ सई शाही समेत रहेका छन्। उनी बिदामा नभई ड्युटीमै रहेका बेला जुवाको खालबाट पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी दीपक पातलीका अनुसार, नेपालगन्जको बाइपास रोडस्थित मौरी रेष्टुरेन्टमा जुवा खेलिरहेको सूचनाका आधारमा छापा मारिएको थियो। सो क्रममा १३ लाख ६३ हजार ८ सय रुपैयाँ नगद र १० गड्डी तास बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा नेपालगन्ज–४ का पूर्ववडाध्यक्ष मो. सफिफ बेहना लगायत विज्ञान श्रेष्ठ, गणेश बस्नेत, सेताज अन्सारी, ऋषि गुप्ता, तरूण गौतम, विनोद खड्का, संगम शाह, मधुसुदन दाहाल, मेघराज गौतम, भागिरथ यादव, नन्दलाल यादव र सुमन केसी रहेका छन्।

उनीहरू सबैलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। विशेषतः सेवामा रहँदै जुवामा संलग्न प्रहरी अधिकारी पक्राउ पर्नुले प्रहरी संगठन भित्रको अनुशासनप्रति प्रश्न उठाएको छ।