काठमाडौं— असोज १७ गतेदेखि बाढीका कारण पुनः अवरुद्ध बनेको बिपी राजमार्ग शुक्रबार दिउँसोसम्म सञ्चालनमा आउने भएको छ। दुई दिन लगातार परेको झरीपछि रोशी खोलामा आएको लेदो मिसिएको बाढीले राजमार्गको ५३०० मिटर डाइभर्सनमध्ये ३४१० मिटर भाग कटान गरेको थियो।
डाइभर्सन पुनः निर्माण गर्न बिहीबार रातभर डोजर चलाइएको सडक डिभिजन भक्तपुरका साइट इन्जिनियर दुर्गा प्रसादले जानकारी दिए। उनका अनुसार माथिल्लो र तल्लो माम्तीमा मर्मत कार्य तीव्र गतिमा भइरहेको छ। माथिल्लो माम्तीमा ४०–५० टिपर फिलिङ गरेपछि त्यो खण्ड सञ्चालनमा आउनेछ भने तल्लो माम्तीमा खोला डाइभर्सनको काम अन्तिम चरणमा पुगेको छ। उनका अनुसार शुक्रबार दिउँसो ४ बजेसम्म बिपी राजमार्ग सञ्चालनमा ल्याउने तयारी भएको छ।
बिहीबार नै भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले घटनास्थलको अवलोकन गरी मर्मत कार्य छिटो सक्न निर्देशन दिएका थिए।
गत वर्ष असोज १० देखि १३ सम्मको बाढीले पनि बिपी राजमार्गमा ठूलो क्षति पुर्याएको थियो। झन्डै १३ किलोमिटर सडक कटान भएको सो खण्डमा अस्थायी डाइभर्सन बनाएर सञ्चालनमा ल्याइएको थियो। यसपटक पनि मनसुनअघि स्तरोन्नति गरेपनि बाढीले डाइभर्सन भाग पुनः बगाएको हो।
राजमार्ग अवरुद्ध भएपछि सवारीसाधनहरू खुर्कोट हुँदै मन्थली, चरिकोट, खाडीचौर हुँदै अरनिको राजमार्ग प्रयोग गरी काठमाडौं आवतजावत गरिरहेका छन्। वैकल्पिक मार्ग साँघुरो र कतिपय ठाउँमा एकतर्फी भएकाले यात्रु तथा सवारी चालकहरूले सास्ती भोग्नुपरेको छ।






































