विराटनगर— गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण कोशी प्रदेशका ५७ वटा प्रहरी कार्यालयहरुको भौतिक संरचनामा क्षति पुग्यो । 

जसमा पनि २४ वटा संरचना पूर्णरुपमा क्षतिग्रस्त भए । त्यसमध्येको एक हो, इलाका प्रहरी कार्यालय इटहरी । आन्दोलनकारीको आगजनीले ध्वस्त बनेको इलाका प्रहरी कार्यालय अहिले प्रहरी चौकी तरहराको ‘शरण’मा छ । 

अगलागी भएपछि पूर्णरुपमा बस्न अयोग्य बनेको इलाकालाई अहिले भने इटहरी ९ रगंशालाको जीवनयोग प्रयोगशाला र ज्येष्ठ नागरिकको दुई तले भवनलाई इलाका प्रहरीको कार्यालयको रुपमा धमाधम बनाउने कार्य भइरहेको छ । 

इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डीएसपि सुवास हमालका अनुसार इटहरी उपमहानगरको कार्यपालिका बैठकले रगंशालामा अस्थायी रूपमा ठाउँ उपलब्ध गराएपछि प्रहरी कार्यालय बनाउने काम धमाधम भइरहेको हो । 

इटहरी उपमहानगरले अस्थायी रूपमा इटहरी प्रहरीलाई कार्यालय प्रयोजनको लागि प्रदेश खेलकुद बिकास वोर्डसँग सहजीकरण गरेपछि अहिले ग्लोबल एभरेष्ट कन्ट्रक्सनले धमधम काम गरिरहेको छ । कन्ट्रक्सनका एक प्रतिनिधि भन्छन,‘हामी तीन दिनभित्रै काम सक्नेगरी गरिरहेका छौं ।’

आन्दोलनका कारण आफैं क्षतिग्रस्त रहेको इटहरी उपमहानगरले वडा नं. ९ का अध्यक्ष जितेन थापाको संयोजकत्तवमा प्रहरी प्रशासन पुनस्र्थापना समिति बनाएर काम गरिरहेको हो । समितिले करिव १० लाखको अनुमानित खर्चमा इलाका प्रहरीको भवन बनाउन लागेको हो ।

इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले इलाका प्रहरीले यसै हप्ता काम सकिने र इलाकाले काम धाल्ने जनाएका छन् । इलाकालाई एउटा सवारी साधन समेत व्यवस्थापन गरेर कार्य सञ्चान हुने जनाए । 

उनले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयलाई व्यवस्थित गरी नियमित रूपमा राजमार्ग सुरक्षाको साथै ट्राफिक व्यवस्थापन कार्य गर्न सहयोग गरिनेका साथै नगर प्रहरी सेवालाइ ब्यबस्थापन गरी नगर प्रहरीलाई निरन्तर रूपमा बजार अनुगमन तथा नगर सुरक्षामा खटाइने प्रतिबद्धता समेत जनाएका छन् ।