काठमाडौं । लोकदोहोरी, तिहारका गीतदेखि देउडा शैलीका सिर्जनासम्म पछिल्ला वर्षहरूमा चर्चामा रहेका गायक तथा संगीत संयोजक बिनोद बाजुरेली सुदूरपश्चिमको लोक संस्कृतिलाई राष्ट्रिय स्तरमा चिनाउने कलाकारका रूपमा परिचित छन् ।

बाजुरामा जन्मेका उनले विद्यालय जीवनमै संगीतको यात्रा सुरु गरेका थिए । उनी सम्झन्छन्,‘हामी स्कुल पढ्दा देउडा मात्र होइन, पूर्वेली र आधुनिक गीत पनि गाउन्थ्यौं । पछि जब चेतना जाग्यो, देउडा पनि हाम्रो गाउनुपर्ने भन्ने महसुस भयो ।’

सुदूरपश्चिमको लोकसाहित्य, लोककथा र लोकसंस्कृतिको जरा नै देउडा रहेको बताउँदै उनले देउडा सबै वर्ग, जातजाति र भाषाभाषीहरूमा समान रूपमा लोकप्रिय रहेको बताए । उनका अनुसार, देउडा सुदूरपश्चिम मात्र होइन, कर्णालीका जिल्लासम्म फैलिएको संस्कृति हो । जुन सुदूरपश्चिमेली पहिचानको मुख्य आधार बनेको छ ।

सन् २०६९ सालमा अल्का डिजिटल महानगरबाट पहिलो एल्बम निकाल्दै औपचारिक संगीत यात्रामा होमिएका बाजुरेलीले ‘भीरको घाँस काट्न सक्छौ र ?’ जस्ता गीतबाट सांगीतिक पहिचान बनाए । त्यसपछि उनका ‘भैंसी गोठ स्याउला’, ‘फोन गर्याइ दश बज्या राति’, ‘घर मेरो प्रदेश नम्बर सात’, ‘नसुके हजारी फूल’ र ‘हियारै जलाउने रहेछ पियार’ लगायतका गीतहरूले उनलाई देउडा शैलीका लोकप्रिय गायकका रूपमा चिनायो ।

‘त्यो बेला युट्युब र टिकटकको जमाना थिएन, तर मेरा गीतहरू मान्छेले भित्रभित्रै रुचाए,’ उनी सम्झन्छन् । पछिल्ला वर्षहरूमा उनका गीतहरू टिकटकमा निकै भाइरल बनेका छन् र उनले त्यसलाई स्रोताले दिएको माया र प्रेरणा मानेका छन् । उनी भन्छन्,‘म धेरै बजार धाउँदिनँ, तर टिकटक र रिल्समा जब आफ्ना गीतहरूमा हजारौं भिडियो देख्छु, गर्व लाग्छ ।’

बाजुरेली केवल गायक मात्र होइनन्, दक्ष संगीत संयोजक (एरेन्जर) पनि हुन् । उनले मिलन लामा, रामचन्द्र काफ्लेलगायतका चर्चित कलाकारहरूसँग काम गरेका छन् ।

आफ्नो संगीतमा सुदूरपश्चिमको स्वाद समेट्ने उनी भन्छन्, ‘मैंले बनाएका हरेक गीतमा सुदूरपश्चिमको फ्लेभर राख्ने गर्छु । चाहे त्यो देउडा होस् वा आधुनिक ।’ उनका लागि देउडा मनोरञ्जन मात्र होइन, सुदूरपश्चिमको पहिचान हो । उनी भन्छन्,‘सुदूरपश्चिमका सबैलाई देउडा खेल्न आउँछ । गाउन नजाने पनि पाइला मिलाउन सक्छन्, यो हाम्रो मौलिकता हो ।’

देउडाको संरक्षणका विषयमा बाजुरेलीले भने,‘देउडाको जगेर्ना जनस्तर र सरकार दुवैबाट हुनुपर्छ । जनताले आफ्ना संस्कृतिलाई माया गर्नुपर्छ, सरकार पनि त्यही संरक्षणका कार्यक्रम ल्याउनुपर्छ । पप र ¥याप गीत सुन्ने, पिज्जा खाने हाम्रो अधिकार हो तर कहिलेकाहीँ सिस्नुको साग पनि खानुपर्छ । त्यस्तै देउडा पनि सुन्नुपर्छ ।’

उनले देउडा प्रतियोगिता, मेला–महोत्सव र सांस्कृतिक दिवसका रूपमा कार्यक्रम गर्नुपर्ने आवश्यकता औंल्याए । उनका अनुसार, कर्णाली प्रदेशले साउन १ गते ‘देउडा दिवस’ मनाएको जस्तै सुदूरपश्चिम सरकारले पनि सांस्कृतिक दिवसको रूपमा यसलाई विस्तार गर्नुपर्छ ।

उनका पछिल्ला गीतहरू मध्ये ‘१० बजे राति’ विष्णु माझीसँग उनले गाएका हुन्, जसको सुटिङ काठमाडौं दरबार स्क्वायरमा गरिएको थियो । सो गीतमा पार्वती राई र शंकर बिसीले मोडलिङ गरेका थिए । त्यसपछि ‘ओ मेरी हुनेवाली जीवन साथी’ जस्ता गीतहरूले पनि उनलाई नयाँ पुस्तामा लोकप्रिय बनाएको छ । उनले भने, ‘देउडाभित्र विकृति र विसंगति हटाएर मौलिकता जोगाउनुपर्छ । वास्तविक देउडियाहरू गाउँमै छन्, उनीहरूलाई सम्मान र अवसर दिनुपर्छ ।’

सुदूरपश्चिमको माटोमा हुर्किएका बिनोद बाजुरेली आज नेपाली संगीत क्षेत्रमा मौलिकता, पहिचान र सिर्जनशीलताको प्रतीक बनेका छन् । उनले भनेझैं, ‘देउडा हाम्रो संस्कृति हो, हाम्रो आत्मा हो । यसलाई जोगाउने जिम्मा कलाकार, जनता र सरकारले सँगसँगै लिनुपर्छ ।’ बाजुरेली अहिले पनि नयाँ देउडा र लोकदोहोरी गीतहरूको तयारीमा छन् । जसबाट उनी फेरि सुदूरपश्चिमको आवाज देशभर गुञ्जाउने लक्ष्यमा छन् ।