सुर्खेत— मुगुबाट सुर्खेत हुँदै नेपालगञ्जतर्फ जाँदै गरेको गाडीमा सवार एक युवक सिटमै मृत फेला परेका छन्। जुम्ला जिल्लाको हिमा गाउँपालिका–१ निवासी २२ वर्षीय गणेश रावत गाडीमा यात्रा गरिरहेका क्रममा अचानक मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ।

रावत मुगुबाट ०२००१ ख ११३८ नम्बरको एसएमएल गाडी चढेर घर फर्किंदै गर्दा गाडीको सिटमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक (डीएसपी) रविनबाबु रेग्मीले जानकारी दिए । गाडी जुम्ला पुगिसकेपछि अन्य यात्रुहरूले उनलाई उठाउन खोज्दा उनी मृत अवस्थामा भेटिएका थिए।

“रावत सिटमा सुतेको अवस्थामा थिए। उनी बिहानसम्म उठेनन्। जाँच गर्दा मृत भेटिए,” डीएसपी रेग्मीको भनाइ छ । गाडीमा सवार अन्य यात्रुहरूले उनले यात्रा भरि सामान्य रूपमा सुतिरहेको बताएका छन् ।

मृतकका परिवारका अनुसार, रावत गम्भीर रूपमा बिरामी थिएनन्, तर कहिलेकाहीँ मदिरा सेवन गर्ने गर्थे। हाल उनको शव पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ। मृत्युको कारण पोष्टमार्टम रिपोर्टपछि मात्र स्पष्ट हुने प्रहरीले जनाएको छ।