काठमाडौं— नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले आफूलाई पक्राउ गर्न चुनौती दिएका छन्।
बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै बस्नेतले विधिको शासन र लोकतन्त्रको पक्षमा आफू जेल जान तयार रहेको बताउँदै आरोपको खण्डन गरे। “मलाई समातेर देखाउनुस्,” बस्नेतले भने, “विधिको पक्षमा, लोकतन्त्रको पक्षमा लड्नेहरू देश र जनताको लागि जेल जान तयार छन्। तर, झूटो आरोप सहन सकिँदैन।”
उनले हालको ‘जेन जेड सरकार’ लाई लक्षित गर्दै आगजनी, लुटपाट र हत्यामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन पनि माग गरे।
बस्नेतले यस्तो अभिव्यक्ति एक महिलाले दिएको उजुरीका आधारमा प्रहरीको साइबर ब्युरोमा बयान दिएपछि दिएका हुन्। उनले आफूविरुद्ध लगाइएको आरोपलाई अस्वीकार गर्दै न्यायिक प्रक्रिया अनुसार अगाडि बढ्नुपर्ने धारणा राखेका छन्।