काठमाडौं— बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) थपिने क्रम नरोकिएपछि राष्ट्र बैंकले आज फेरि बजारबाट २० अर्ब रुपैयाँ झिक्न लागेको छ । राष्ट्र बैंकले नियमित रूपमा आइतबार र बुधबार पैसा झिक्दै आएको छ ।

दसैं बिदाका कारण गत साता पैसा झिक्न नपाएपछि हिजो मंगलबार १२ दिनका लागि ९० अर्ब रुपैयाँ झिकेको थियो । आज नियमित पैसा निकाल्ने दिन रहेकाले सोही प्रक्रियालाई निरन्तरता दिएको हो ।

अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले आज ११ दिनका लागि उक्त रकम झिक्न लागेको जनाएको छ ।

बजारबाट पैसा निकाल्नका लागि आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ ।

घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । यसरी खरिद गरिएको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकले भनेको छ ।