काठमाडौं— निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकसहित ५ जनालाई विदेश भ्रमणमा जान नपाउने गरी कालोसूचीमा राखेको पाइएको छ ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको छानबिन गर्न गठित जाँचबुझ आयोगको सिफारिसका आधारमा अध्यागमन विभागले ५ जनालाई विदेश भ्रमणमा जान नपाउने गरी कालो सूचीमा राखेको हो ।
अध्यागमन विभागले ओली, लेखक, तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडी, काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल र राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापालाई कालो सूचीमा राखेको हो ।
जाँचबुझ आयोगले गरेको सिफारिस बमोजिम गृह मन्त्रालयले विदेश भ्रमणमा रोक तथा राहदानी रोक्का गर्न अध्यागमन विभागमा असोज १२ गते पत्राचार गरेको थियो । अध्यागमन विभाग स्रोतका अनुसार सोही दिनदेखि गृह मन्त्रालयको निर्देशन कार्यान्वयनमा आइसकेको छ ।