काठमाडौं— गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको निवासमा आगजनी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्ने व्यक्ति रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ स्थायी घर भई हाल पोखरा–७, राष्ट्र बैंक चोकमा बसोबास गर्दै आएका २२ वर्षीय संयोग थापा हुन्।
गत असोज १२ गते राति मुख्यमन्त्रीको घरमा आगजनी भएको घटनापछि फरार रहेका थापालाई प्रहरीले खोजतलासपछि नियन्त्रणमा लिएको हो। हाल उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिएका छन्।
अनुसन्धानका क्रममा थापाले नेपाल राष्ट्र बैंकको पर्खाल नजिक रहेको एनआईएमबी बैंकको एटीएम मेशिनमा ढुङ्गा हानेर स्क्रिन तोडफोड गरेको पनि खुल्न आएको प्रहरीले जनाएको छ।