सप्तरी— जिल्लाको खडक नगरपालिका–११, बनौलीस्थित हुलाकी सडकमा पिकअपको ठक्करबाट एक युवकको मृत्यु भएको छ। डाक्नेश्वरी नगरपालिका–१०, बनौला निवासी १८ वर्षीय अमन मण्डल गएराति करिब ११ बजे पैदल हिँडिरहेका बेला कुखुरा बोकेको एक पिकअपले ठक्कर दिएको हो। बोदेबर्साइनबाट राजविराजतर्फ जाँदै गरेको ती पिकअपको नम्बर खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
ठक्करबाट गम्भीर घाइते भएका मण्डलको टाउको, छाती र दाहिने हातमा चोट लागेको थियो। उनलाई तत्कालै बोदेबर्साइनस्थित जीवनज्योति अस्पतालमा प्राथमिक उपचार गरिएपछि थप उपचारका लागि छिन्नमस्ता अस्पताल, राजविराज ल्याइएको भएपनि उपचारको क्रममा उनको मृत्यु भएको थियो ।
प्रहरीका अनुसार चालक घटना पछि फरार रहेका छन्। उनीहरूको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक डम्बर पुरीले जानकारी दिए।