दार्चुला – दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ०३ स्थित प्रहरी चौकीमा कार्यरत इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) नरेन्द्र धामीको एक विवादास्पद अडियो सार्वजनिक भएको छ । सार्वजनिक अडियोमा उनले सोही चौकीमा कार्यरत प्रहरी सहायक हवल्दार महेश सिंह धामीमाथि गाली गलौज, कुटपिट र गोली ठोक्ने धम्की दिएको स्पष्ट रूपमा सुनिन्छ ।

स्थानीय स्रोतका अनुसार विवादित दुबै प्रहरी एकै ठाउँका स्थायी बासिन्दा हुन् र उनीहरूबीच काका–भतिजको नाता रहेको बुझिएको छ । अडियोमा स्पष्ट रूपमा सुन्न सकिन्छ कि इन्चार्ज धामीले महेशलाई “तेरो खुट्टा भाँचिदिन्छु” भन्दै अश्लील र अपमानजनक शब्द प्रयोग गरेका छन् ।

स्रोतका अनुसार, इन्चार्ज धामी  मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरा धामी र शैल्यशिखर नगरपालिकाका मेयर विजय सिंह धामीको इशारा अनुसार काम गर्ने बताइएको छ । अडियोमा उनले धम्की दिँदै पूर्व गृहमन्त्री रमेश लेखक र पूर्वमन्त्री दिलेन्द्र बडुलाई फोन गर्न पनि आदेश दिइरहेको सुनिन्छ ।

घटनापछि चौकीका इन्चार्ज धामीसँग जिटिभिले कुरा गर्दा आफूले रक्सि खाएको बेला त्यस्तो घटना घटेको स्विकारेका छन् । उनले प्रतिक्रिया दिँदै भनेका छन्, “महेश मेरो आफ्नै छोराजस्तै हो, रक्सीको तालमा २–३ झापड हानिएको हो। भिडियो खिचिएको रहेछ भन्ने थाहा भएन। हामी मिलाउने पक्षमा छौँ।” तर अडियो सार्वजनिक भइसकेपछि यो सामान्य झगडाभन्दा धेरै गम्भीर देखिएको छ।

इन्चार्ज प्रहरी नायब निरीक्षक (सई)धामीको  दरबन्दि कालिकोट रहेको र हाल उनी काजमा दार्चुला पुगेको झन्डै ४/५ महिना भइसकेको छ । तर उनले काजमा आएदेखि स्थानियहरुसँग गलत व्यवहार गर्ने गरेको मालिकार्जुनका  स्थानियहरुको को गुनासो छ । 

केहि वर्ष अगाडी उनी बैतडीको गोकुलेश्वर क्षेत्रमा इन्चार्ज रहेका र स्थानियहरु सँग मदिरा सेवन गरेर अश्लिल शब्द प्रयोग गर्ने र आमजनमानसलाई दुख दिने गर्दा उनी जिल्ला तानिएका थिए । 


उता, सहायक हवल्दार महेश धामीले भने घटनालाई सामान्य पार्न खोज्दै “यो हाम्रो व्यक्तिगत कुरा हो। उहाँ मेरो आफन्त पनि हो, त्यसैले त्यस्तो भयो” भन्दै प्रतिक्रिया दिएका छन्। तर उनले अडियो  कसले रेकर्ड गर्यो भन्ने आफूलाई थाहा नभएको दाबी गरे।

 यस्ता विवाद मालिकार्जुन प्रहरी चौकीको पहिलो भने होइन। उक्त चौकीमा कार्यरत केही प्रहरीहरू मदिरा सेवन गरी गालीगलौज गर्ने, होहल्ला मच्चाउने, र साना–साना विवादलाई ठूला मुद्दा बनाउने प्रवृत्तिले निरन्तर जनताको आक्रोश बढ्दै गएको छ ।

स्थानीयहरुले चौकीले समाजमै मिल्न सक्ने सामान्य विवादहरूलाई जानी–जानी भड्काउने र नागरिकहरूलाई आतंकित गर्ने काम गरिरहेको बताएका छन् । सार्वजनिक अडियोमा स्पष्ट देखिन्छ कि प्रहरी प्रशासन आफ्ना गल्तीहरू ढाकछोप गर्न राजनीतिक पहुँचको आड लिइरहेको छ  । यस्तो घटनाले ‘जनताको सेवक’ भन्ने दाबी गर्ने प्रहरीको नैतिक धरातलमाथि गम्भीर प्रश्न उठाएको छ।

प्रहरी चौकीमै भएको कुटपिट, गालीगलौज, र गोली ठोक्ने धम्कीले प्रहरी संगठनभित्रको अनुशासन, नेतृत्वको कमजोरी, र राजनीतिक प्रभावको घुसपैठलाई उजागर गरेको छ । यदि यस्ता घटना माथि कडाइका साथ छानबिन र कारबाही हुँदैन भने आमनागरिकको सुरक्षाको ग्यारेन्टी कसरी दिने भन्ने प्रश्न उठेको छ ।

अहिले मालिकार्जुनसहित आसपासका वडाका बासिन्दाहरू मालिकार्जुन प्रहरी प्रशासनदेखि प्रभावित भइसकेका छन् ।  ‘कानुन सबैका लागि समान’ भन्ने सन्देश दिन प्रहरी संगठन आफैंले अब संयमता देखाएर जवाफदेही बन्नु आवश्यक छ ।

https://youtu.be/rZgW-NZM4ic