सङ्खुवासभा— सङ्खुवासभा जिल्लाको सिलिचोङ गाउँपालिका–४ माङ्तेवामा खुकुरी प्रहारबाट एक जना शिक्षक गम्भीर घाइते भएका छन्। जीवन ज्योति माध्यमिक विद्यालयमा कार्यरत शिक्षक राजेन्द्र राईमाथि आफन्त फुपूका छोराहरूले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए।
घटनामा शिक्षक राईको टाउको, हात र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ। उनलाई सुरुमा जिल्ला अस्पताल खाँदबारी लगिएको थियो। तर, त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगरको न्यूरो अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सामान्य विवादपछि जाँडरक्सी सेवन गरेका आफन्त सुरेन्द्र राई र अमिर राई (नाबालक) ले शिक्षक राईमाथि खुकुरी प्रहार गरेका थिए।
दुबै अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। घटनास्थल जिल्ला सदरमुकाम खाँदबारीबाट एक दिनको पैदल दूरीमा रहेको बताइएको छ। घटनाको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।