भोजपुर— भोजपुरका कृषकहरूले उत्पादन गरेको जडिबुटीको उचित मूल्य नपाएको गुनासो गरेका छन्। जिल्लाको माथिल्लो भेगमा चिराइतो, सतुवा, अलैंची, टिमुरलगायतका बहुमूल्य जडिबुटी व्यावसायिक रूपमा उत्पादन हुँदै आएको छ। तर, बजार मूल्य नपाउँदा किसानहरू मारमा परेका छन्।

स्थानीय किसानहरूका अनुसार जडिबुटीको मूल्य निर्धारणबारे स्पष्ट जानकारी नहुँदा र सरकारी निकायले मूल्य तोक्ने प्रक्रिया नल्याउँदा विचौलियाहरूले मनपरी मूल्यमा जडिबुटी खरिद गरिरहेका छन्।

कृषक निमा शेर्पाले चिराइतो, सतुवा र अलैंचीको व्यावसायिक खेती गरे पनि मूल्य निर्धारण नभएको कारण घाटामा बेच्न बाध्य भएको बताइन्। “विचौलियाकै भर पर्नुपर्छ, हामीले उत्पादन त गर्‍यौं, तर लागत पनि उठ्दैन,” उनले भनिन्।

कृषक पासाङ शेर्पाले भने, “गाउँमा हल्लाको भरमा मूल्य तोकिन्छ। पछि मात्र थाहा हुन्छ कि बजारमा त्योभन्दा धेरै मूल्य रहेछ। हामी सधैं घाटामा पर्छौं।”

किसानहरूको माग छ कि सरकारले जडिबुटीको न्यूनतम मूल्य निर्धारण गरी बजार व्यवस्थापनमा सहजीकरण गरोस्। उचित मूल्य सुनिश्चित नहुँदा जडिबुटी खेतीप्रति आकर्षण घट्ने र कृषकहरू हतोत्साहित हुने उनीहरूको भनाइ छ।