काठमाडौं— बेलायतको म्यानचेस्टरमा बिहीबार एक यहूदी प्रार्थनास्थल (सिनागग) बाहिर आतंकवादी हमला भएको छ । यसमा दुई यहूदी नागरिकको मृत्यु भएको छ भने तीनजना गम्भीर रूपमा घाइते भएका छन् ।
क्रम्प्सल भन्ने स्थानमा योम किप्पुर पर्वमा प्रार्थनाका लागि धेरै यहूदीहरू भेला भएका वेला आक्रमणकारीले उनीहरूमाथि कार चढाइदिएको र त्यसपछि गोली चलाउन थालेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।
प्रहरीको कारबाहीमा आक्रमणकारीको मृत्यु भएको छ । योम किप्पुरको दिन यहूदीहरू आफ्ना विगतका गल्तीहरूको लागि माफी माग्छन् र प्रार्थना गर्छन् ।
बेलायतका प्रधानमन्त्री कियर स्टार्मरले यो हमलालाई अत्यन्त डरलाग्दो भएको बताए । स्टार्मर बेलायतको आपतकालीन टोलीसँग बैठक गर्न डेनमार्कबाट हतार हतार स्वदेश फर्कंदै छन् ।
उनले सामाजिक सञ्जाल ‘एक्स’मा लेख्दै भने, “यो हमला योम किप्पुर जस्तो पवित्र दिनमा भएको छ, जसले यसलाई अझ भयानक बनाउँछ । मेरो समवेदना घाइतेका परिवारहरूसँग छ ।”
म्यानचेस्टरका मेयर एन्डी बर्नह्यामले आक्रमणकारीको मृत्यु भएको बताएका छन् । प्रहरीले पनि यसको पुष्टि गरिसकेको छ । मेयर बर्नह्यामले मानिसहरूलाई आक्रमण भएको स्थानमा नजान अपिल गरेका छन् ।
ग्रेटर म्यानचेस्टर प्रहरीले यसलाई आतंकवादी घटना घोषित गरेको छ । काउन्टर–टेररिज्म टोलीले घटनाको जाँच गरिरहेको बताइएको छ । आक्रमणकारीको नाम सार्वजनिक गरिएको छैन । दुई अन्य संदिग्धहरूलाई पनि गिरफ्तार गरिएको बताइएको छ । देशभरका यहूदी समुदायहरूको सुरक्षा बढाइएको छ ।
ब्रिटिस राजा चार्ल्सले विशेषगरी यहूदीहरूको यस विशेष दिनमा यो घटनाले आफूहरूलाई गहिरो शोकमा पुर्याएको बताएका छन् । यता, यहूदी संगठन कम्युनिटी सेक्युरिटी ट्रस्टले यो हमला बेलायतमा बढ्दो यहूदीविरोधी वातावरणको हिस्सा जस्तो लाग्ने बताएको छ ।
सञ्चारमाध्यमका रिपोर्टअनुसार, बेलायतमा पछिल्ला केही वर्षहरू खासगरी इजरायल–हमास संघर्षपछि यहूदीविरोधी घटनाहरू तीव्र गतिमा बढेका थिए । म्यानचेस्टरमा करिब ३० हजार यहूदी बस्छन्, जुन लन्डन बाहिरको सबैभन्दा ठूलो समुदाय हो ।