सुनसरी— सुनसरीको इटहरीमा एक युवतीको आफ्नै श्रीमानको कुटपिटबाट ज्यान गएको हृदयविदारक घटना सार्वजनिक भएको छ। इटहरी उपमहानगरपालिका–१२ स्थित डेरामा बस्दै आएकी २५ वर्षीया अनिसा भट्टराई दाहालको हत्या उनकै श्रीमान् सुमन दाहालले गरेका हुन् भन्ने खुलेको प्रहरीले जनाएको छ।
खोटाङको ऐसलुखर्क गाउँपालिका–१ घर भएकी अनिसाको टाउको, नाक र कानमा काठको दाउरा प्रहार गरी गम्भीर घाइते बनाइएको थियो। घरेलु विवादका क्रममा सुमनले क्रोधित भई यस्तो हिंसात्मक हमला गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सुवास हमालले जानकारी दिए।
गम्भीर अवस्थामा रहेकी अनिसालाई तत्काल विराटनगरस्थित विराट शिक्षण अस्पताल पुर्याइए पनि उपचारकै क्रममा उनको गएराति मृत्यु भयो।
श्रीमान् सुमन दाहाललाई प्रहरीले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान अघि बढाएको छ। ूघरेलु विवादले हिंसाको रूप लिँदा एक युवतीको जीवन गुमाउनु परेको छ, यसबारेमा विस्तृत अनुसन्धान भइरहेको छ,ू डिएसपी हमालले भने।
यो घटनाले समाजमा अझैपनि घरेलु हिंसाले गहिरो जरा गाडिरहेको तथ्य उजागर गरेको छ। छिमेकीहरूका अनुसार उनीहरू केही समयदेखि झगडा भइरहने गरेको बताइएको छ।