इटहरी— इटहरी उपमहानगरपालिका–१६ मा दुई सय रुपैयाँको सर्फ बिक्रीको पैसा नदिएको विवादले कुटपिट भएपछि तीन जना घाइते भएका छन्।
इटहरी–७ का दिलीप चौधरीले सर्फ र फिनेल बिक्री गरिरहेका बेला एक व्यक्तिले सर्फको रकम नतिर्दा विवाद सुरु भएको इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले जानकारी दिए ।
कुटपिटमा व्यापारी दिलीप चौधरीसहित तीन जना घाइते भएका छन्। अन्य दुई घाइतेको नाम हालसम्म खुलाइएको छैन । उनीहरूलाई उपचारका लागि तत्काल अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार घटनामा संलग्न केही व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ। सर्फ किन्ने व्यक्तिको नाम पनि हालसम्म सार्वजनिक गरिएको छैन।
विवाद र कुटपिट व्यस्त चोकमै भएको कारण आसपासका स्थानीयवासीको ठूलो भीड घटनास्थलमा भेला भएको थियो।