सर्लाही— अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरूको जागिर कटौतीको विषयमा आम जनता पार्टी (आजपा) का प्रवक्ता चन्द्रभुषण साहले सरकारप्रति कडा आपत्ति जनाएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रवक्ता साहले चाडपर्वको मुखमा गरिब जनताको छोराछोरीलाई जागिरबाट निकाल्नु अमानवीय भएको टिप्पणी गर्दै प्रधानमन्त्री सुशील कार्कीलाई सिधा प्रश्न गरेका छन्। उनले लेखेका छन्, 'सरकारी घरमा मासुभात, जनताको घरमा आँसुभात — यो विभेदपूर्ण अवस्था कहिलेसम्म?'

प्रवक्ता साहले मितव्ययीताको नाममा गरिएका यी कटौतीलाई आलोचना गर्दै सोधे, “प्रधानमन्त्री, मन्त्री, तथा अन्य वरिष्ठ शासक–प्रशासकहरूले आठ महिना मात्रै काम गरेर दशैं भत्ता सहित १३ महिनाको तलब बुझ्ने परम्परा राष्ट्रिय शोक र संकटको घडीमा पनि किन कायम रह्यो ? ”

सरकारले अपनाएको यस्तो नीति जनविरोधी र विभेदकारी भएको आरोप लगाउँदै साहले चाडपर्वमा रोजगारी गुमाएका श्रमिकहरूको पीडा बुझ्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।