कञ्चनपुर— छाउपडीजस्तो अमानवीय प्रथा अन्त्य गर्ने उद्देश्यले कञ्चनपुर जिल्लाको बेदकोट र कृष्णपुर नगरपालिकामा हालसम्म १५० वटा छाउगोठ भत्काइएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार बेदकोट नगरपालिकामा २३ र कृष्णपुर नगरपालिकामा १२७ छाउगोठ हटाइएको हो। प्रहरी, महिला स्वास्थ्य स्वयंसेविका र स्थानीय सरकारको समन्वयमा यो अभियान सञ्चालन गरिएको हो।

अभियानको सुरुवात कृष्णपुर–१ की कमला आउजीको छाउगोठमै सर्पले टोक्दा मृत्यु भएपछि गरिएको हो। असार महिनाको अन्त्यतिर घटेको उक्त घटनाले पालिकालाई तुरुन्तै कदम चाल्न बाध्य बनायो। त्यसपछि पालिकाले छाउगोठ नहटाउनेहरूलाई १० हजार रुपैयाँ जरिवाना र कानुनी कारबाहीको चेतावनीसमेत दिएको थियो।

कृष्णपुर नगरपालिकाका प्रमुख हेमराज ओझाले अभियान अझै जारी रहेको बताए। “देशको समग्र अवस्थाले केही ढिलाइ भएको हो,” उनले भने, “दसैं–तिहारपछि हामी फेरि सक्रिय रूपमा अभियान अघि बढाउनेछौं।”

ओझाले छाउपडी अन्त्य कानुनी मात्र नभई सामाजिक चेतनाको विषय भएकाले यसमा सबैको सहकार्य आवश्यक रहेको बताए। उनका अनुसार स्थानीय तह, विद्यालय, महिला समूह र नागरिक समाजको साझेदारीमा विभिन्न सचेतनामूलक कार्यक्रम पनि अगाडि बढाइनेछ।

जिल्ला प्रशासन कार्यालयले जिल्लाका सबै ९ वटै पालिकालाई छाउगोठ भत्काउन निर्देशन दिए पनि हालसम्म बेदकोट र कृष्णपुर नगरपालिकाले मात्र ठोस रूपमा अभियान अघि सारेका छन्। अन्य पालिकाहरूमा अझै पनि महिनावारी अवधिमा महिलालाई गोठमा बसाउने परम्परा कायमै छ।

नेपालको कानुन अनुसार छाउपडी प्रथा अपराध मानिन्छ। मुलुकी फौजदारी संहिता २०७४ को दफा १६८ मा छाउपडी गराउनेलाई तीन महिनासम्म कैद, वा ३ हजार रुपैयाँ जरिवाना, वा दुबै सजायको व्यवस्था छ। तर, सामाजिक परम्परा र अन्धविश्वासको प्रभावले गर्दा अझै धेरै ग्रामीण क्षेत्रमा यो प्रथा जरा गाडेर बसेको छ।

सरकार, प्रहरी, स्थानीय तह, नागरिक समाज र स्वयं समुदायको सक्रिय सहकार्य बिना छाउपडी अन्त्य असम्भव हुने सरोकारवालाहरू बताउँछन्।