काठमाडौं— अर्थमन्त्री रामेश्वर खनाल र नेपालका लागि जापानका राजदूत माएदा तोरुबीच आज अर्थ मन्त्रालयमा द्विपक्षीय भेटवार्ता भएको छ।
भेटका क्रममा नेपालको समसामयिक राजनीतिक अवस्था, नेपाल–जापानबीचको ऐतिहासिक सम्बन्ध तथा जापानले नेपालको आर्थिक तथा सामाजिक विकासमा पुर्याउँदै आएको सहयोगबारे छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ।
अर्थमन्त्री खनालले हाल विशिष्ट परिस्थितिमा गठन भएको सरकारले निर्धारित समयमा निर्वाचन सम्पन्न गर्ने आफ्नो प्राथमिक कार्य रहेको बताएका छन्। साथै, यस अवधिमा आर्थिक तथा सामाजिक विकास र पुनर्निर्माणका कार्यलाई पनि निरन्तरता दिइने स्पष्ट पारे।
भेटमा हाल निर्माणाधीन नागढुंगा सुरुङमार्ग (टनेल मार्ग), तनहुँ जलविद्युत् आयोजना लगायतका परियोजनामा जापान सरकारको सहयोगबारे समीक्षा गरिएको थियो। साथै, निकट भविष्यमा सम्झौता हुने तयारीमा रहेको कोटेश्वर इन्टरसेक्सन सुधार परियोजना र बीपी राजमार्ग पुनर्निर्माणसम्बन्धी योजनाहरू पनि छलफलको केन्द्रमा रहेका थिए।
बैठकमा अर्थ सचिव घनश्याम उपाध्याय र वैदेशिक सहायता समन्वय महाशाखाका सहसचिव धनीराम शर्मा पनि सहभागी थिए।