मुग्लिन— चितवनको इच्छाकामना गाउँपालिका–३ मा ट्रक र कन्टेनर एकापसमा ठोक्किँदा एक जना घाइते भएका छन्। शनिबार बिहान मुग्लिन सडक खण्डमा दुर्घटना भएको हो।
काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको ना ८ ख ३८८६ नम्बरको कन्टेनर र मुग्लिनबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–० ३५२२ नम्बरको ट्रक ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
दुर्घटनामा ट्रक चालक घाइते भएको र उनलाई उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनापछि केही समय सडक अवरुद्ध भए पनि अहिले यातायात सुचारु भएको छ।
प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।