हुम्ला— मुगु जिल्लाको सोरु गाउँपालिका–३, भिइमा वडा दशैंको अवसरमा आयोजना गरिएको फूटबल प्रतियोगिता हिंसात्मक झडपमा परिणत हुँदा चार जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेकाले हेलिकप्टरमार्फत प्रदेश अस्पताल, कालागाउँ लगिएको छ।
घटनाबारे जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले झडप फूटबल खेल सुरु हुनासाथ भएको बताए। अलस्टार युवा क्लबद्वारा आयोजित प्रतियोगिताको औपचारिक कार्यक्रम प्रारम्भ हुन नपाउँदै दुई पक्षबीच विवाद चुलिएको थियो।
झडपका क्रममा धारिलो हतियार प्रयोग गरिएको प्रहरीले जनाएको छ। सोही वडाका पवन कार्की भनिने व्यक्तिको समूहले धारिलो हतियार प्रयोग गर्दा प्रकाश धामी, प्रकाश कार्की, जीवन धामी र हिक्मतजङ्ग धामी घाइते भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
तीन गम्भीर घाइतेलाई गाउँपालिकाको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले हेलिकप्टरमार्फत प्रदेश अस्पताल पठाएको प्रजिअ खत्रीले जानकारी दिए।
वडाध्यक्ष सिंहबहादुर धामीले घटनाका बेला आफू उपस्थित नरहेको बताउँदै, गत वर्षको पुरस्कार वितरण नहुँदा खेलाडीहरूबीच असन्तोष रहँदै आएको र यही रिसइबीका कारण झडप भएको हुनसक्ने अनुमान व्यक्त गरेका छन्।
उता, घटनापछि अनुसन्धानका लागि सोरुबर्मा प्रहरी चौकीका इन्चार्ज देवबहादुर खड्काको टोली घटनास्थल पुगेको छ। हालै जेलमुक्त भएका पवन कार्की घटनामा संलग्न रहेको पुष्टि भए पनि विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ।
प्रजिअ खत्रीका अनुसार झडप विगतका विवादकै निरन्तरता हो। केही समयअघिपनि यी समूहबीच विवाद र कुटपिटको घटना भएको थियो।