काठमाडौं— निर्वाचन आयोगले कात्तिक मसान्तसम्म देशभर मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार मतदाता नामावलीसम्बन्धी अध्यादेश जारी गरेसँगै आयोग सक्रिय भएको हो।

यस अन्तर्गत आगामी फागुन २० गतेभित्र १८ वर्ष पूरा गर्ने सबै नेपाली नागरिकलाई मतदानको अधिकार हुने व्यवस्था मिलाइएको छ। आयोगका अनुसार हाल १६ वर्ष उमेर पुगेका र नागरिकता प्राप्त गरेका नेपाली नागरिकले पनि नामावलीमा दर्ता गर्न सक्नेछन्। यसको लागि उनीहरूले प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क गर्नु पर्नेछ।

यस निर्णयले हाल चर्चामा रहेको जेनजी आन्दोलनका युवाहरूलाई पनि सम्बोधन गर्नेछ। गत भदौ २३ र २४ गते भएको उक्त आन्दोलनपछि बनेको अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गर्ने कार्यादेश जारी गरेको छ।

अघिल्लो कानुनअनुसार चुनाव घोषणा भएपछि मतदाता नामावली संकलन रोकिने व्यवस्था थियो। तर सरकारले अध्यादेशमार्फत त्यो व्यवस्था संशोधन गरेर नयाँ पुस्ताका युवालाई पनि निर्वाचन प्रक्रियामा सहभागी गराउने बाटो खोलेको छ।

voter