सुनसरी— लेनदेनको विषयमा उत्पन्न विवाद हिंसात्मक झगडामा परिणत हुँदा इटहरी उपमहानगरपालिका–१६ उब्दीका ४२ वर्षीय रामकुमार चौधरीको मृत्यु भएको छ।

घटनामा संलग्न भएको आरोपमा स्थानीय ५५ वर्षीय लाले चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कुटपिटका कारण गम्भीर घाइते भएका रामकुमारलाई उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल लगिएको थियो। उपचारकै क्रममा बुधबार राति उनको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको टोलीले घटनापछि तत्काल लाले चौधरीलाई पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानअनुसार लेनदेनसम्बन्धी विवादकै कारण झगडा भएको बताइएको छ।

घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।