काठमाडौं— जेनजी आन्दोलनका क्रममा भएको तोडफोडबाट उद्योग विभागको भवन र अन्य संरचनामा क्षति पुगेको छ। आन्दोलनकारीहरूले विभागको भवन बाहिरका भागमा ढुंगामुढा तथा तोडफोड गरेपछि केही भौतिक संरचना क्षतिग्रस्त भएका हुन्।
यद्यपि, विभागले आफ्नो प्राविधिक तथा प्रशासनिक सेवा भने नियमित रूपमा सञ्चालनमा रहेको जनाएको छ। विभागका अनुसार आन्तरिक कर्मचारीको समन्वय र सुरक्षाकर्मीको सहयोगमा सेवा प्रवाहमा कुनै बाधा नआएको हो।
घटनापछि सुरक्षाका दृष्टिले विभाग परिसरमा थप प्रहरी परिचालन गरिएको छ। विभागले सेवा लिन आउने सेवाग्राहीलाई संयमता अपनाउन आग्रह गरेको छ भने क्षति मूल्यांकनको काम सुरु भइसकेको जनाएको छ।
सरकारले आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिमा भएको क्षतिको विवरण संकलन गर्दै कानुनी प्रक्रिया अघि बढाउने बताएको छ।