ललितपुर— तिहार र छठजस्ता महत्वपूर्ण चाडपर्वलाई लक्षित गर्दै फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान) ले ललितपुरको जावलाखेलमा गोदावरी पुष्प प्रदर्शनी आयोजना गर्ने भएको छ। ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराका साथ आयोजना हुने ‘१८औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी–२०८२’ यही असोज २९ गतेदेखि कार्तिक २ गतेसम्म सञ्चालन हुनेछ।
फ्यानका उपाध्यक्ष तथा मेला संयोजक सुमन महर्जनका अनुसार पाँच दिनसम्म चल्ने प्रदर्शनी जावलाखेलस्थित खेल मैदानमा बिहान ९ बजेदेखि साँझ ५ः३० बजेसम्म खुला रहनेछ।
प्रदर्शनीमा ८० वटा व्यवसायिक स्टल, ३ वटा सूचनामूलक, १ प्रतिस्पर्धात्मक स्टल र १ सेल्फी स्टलसहित कुल ८५ वटा प्रदर्शनी कक्ष रहनेछन्। यसपटक परम्परागत जातका गोदावरी फूलसँगै नेपालमा हालै भित्रिएका नयाँ प्रजातीका गोदावरी फूलहरू समेत अवलोकन र बिक्रीका लागि राखिनेछन्।
त्यसैगरी, मखमली, सयपत्री लगायतका मौसमी फूलहरू, बिउबिजन, मलखाद तथा कृषि औजारसमेत प्रदर्शन गरिनेछ। आयोजकले यसपटकको प्रदर्शनीमा ४२ हजारभन्दा बढी दर्शक आउने अनुमान गरेको छ भने १ करोड २० लाख रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ।
गत वर्षहरूझैं यसपटक पनि गोदावरी फूलमा चार विधा—मिनियचर, रिफ्लेक्स, स्पाइडर र इनकर्भ—मा प्रतिस्पर्धा गरिनेछ। प्रतिस्पर्धामा उत्कृष्ट हुने नर्सरी वा फर्महरूलाई शिल्ड, नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ। साथै, कट फ्लावर विधा र स्टल सजावटतर्फ पनि उत्कृष्टलाई सम्मान गरिने कार्यक्रम रहेको छ।
प्रदर्शनीको उद्देश्य पुष्प व्यवसायलाई प्रवर्द्धन गर्नु, व्यवसायीहरूबीच प्रतिस्पर्धात्मक भावना विकास गर्नु र नयाँ प्रविधिको जानकारी दिनु रहेको फ्यानका अध्यक्ष राजेश भक्त श्रेष्ठले जानकारी दिए। उनले पुष्प व्यवसाय विस्तार भए पनि बजार क्षेत्र अझै सीमित रहेको उल्लेख गर्दै यस्तो प्रदर्शनीले उपभोक्ताको पहुँच बढाउने र बजार विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
फ्यानका कोषाध्यक्ष राजकृष्ण बजगाईंका अनुसार प्रदर्शनी अवलोकन गर्न विद्यार्थीहरूका लागि प्रवेश शुल्क १०० रुपैयाँ, सर्वसाधारणका लागि १५० रुपैयाँ तोकिएको छ भने नागरिकता वा राष्ट्रिय परिचयपत्र लिएर आउने जेष्ठ नागरिकहरूलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।
स्टल सजावट कार्य असोज २८ गते बिहान ८ बजेबाट सुरु हुनेछ। प्रदर्शनीको औपचारिक उद्घाटन असोज २९ गते हुनेछ भने समापन कार्यक्रम कार्तिक २ गते साँझ ५ बजे तय गरिएको छ।