काठमाडौं— काठमाडौंको सुनधारास्थित केन्द्रीय कारागारबाट फरार एक कैदीलाई पर्सामा प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्ने व्यक्ति कालिकामाई गाउँपालिका–५ का ४० वर्षीय मुक्तिनारायण कुर्मी हुन्। उनी भदौ २४ गते जेनजी आन्दोलनका क्रममा जेल तोडफोडपछि भागेका थिए।
इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा उनलाई मंगलबार आफ्नै गाउँबाट पक्राउ गरेको हो।
कुर्मीलाई पर्सा जिल्ला अदालतले आफ्नै श्रीमती ३५ वर्षीया संगिता देवी कुर्मीको हत्या गरेको अभियोगमा २५ वर्ष कैद सजाय सुनाएको थियो। उनले श्रीमतीको घाँटी थिचेर हत्या गरेका थिए।
फरार भएपछि उनी गाउँमै लुकीछिपी बस्दै आएका थिए।
प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनलाई पुनः कारागारमा पठाउने तयारी गरिरहेको जनाएको छ।