बुटवल— रूपन्देहीको गैडहवा गाउँपालिकामा करेन्ट लागेर एकै परिवारका श्रीमान–श्रीमतीको मृत्यु भएको छ।

मृत्यु हुनेमा गैडहवा गाउँपालिका–६ निवासी ७५ वर्षीय रामरतन सैठवार र उनकी ६८ वर्षीया श्रीमती अकाली सिंह सैठवार रहेका छन्।

सोमबार बिहान ह्याण्ड पाइपबाट पानी तान्न मोटरको तार जोड्ने क्रममा अकाली सिंहलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीले जानकारी दिए । श्रीमतीलाई जोगाउन दौडिएर पुगेका रामरतनलाई समेत करेन्ट लाग्दा घटनास्थलमै दुबै जनाको मृत्यु भएको डीएसपी कार्कीको भनाइ छ ।

प्रहरीका अनुसार मोटरको पावर सकेटमा टुपिन (प्लग) नहुनुका कारण नाङ्गो तार सिधै जोड्दा करेन्ट प्रवाह भएको थियो।

दुबै जनाको शव पोष्टमार्टमका लागि भीम अस्पताल, भैरहवा पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।