काठमाडौं— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक किलो सुन लुकाएर ल्याउँदै गरेका एक भारतीय नागरिक पक्राउ परेका छन्।
मंगलबार दिउँसो विमानस्थलको आगमन भन्सार क्षेत्रबाट पक्राउ पर्ने व्यक्ति ४८ वर्षीय रोनक मदनी रहेको विमानस्थल प्रहरीले जनाएको छ। भारतको मुम्बईबाट इन्डिगो एयरको उडानमार्फत काठमाडौं आएका मदनीको शारीरिक हाउभाउ शंकास्पद देखिएपछि प्रहरीले थप जाँच गरेको थियो।
प्रहरी स्रोतका अनुसार उनलाई नियन्त्रणमा लिएर काठमाडौं मेडिकल कलेज (केएमसी) लगिएको थियो। त्यहाँ गरिएको भिडियो एक्सरेबाट मलद्वारभित्र लुकाइएको अवस्थामा तीनवटा डल्लामा राखिएको ८३५ ग्राम सुन फेला परेको हो।
बरामद गरिएको सुन अवैध रूपमा ल्याइएको पुष्टि भएपछि उनलाई थप अनुसन्धान र कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ।