निर्वाचन तयारीका लागि आयोगसँग प्रधानमन्त्री र गृहमन्त्रीको छलफल
काठमाडौं— आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारीका सन्दर्भमा प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन आयोगका पदाधिकारीहरूसँग मंगलबार छलफल गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा निर्वाचन सामग्री, बजेट तथा मतदाता नामावली संकलनसँग सम्बन्धित विषयमा केन्द्रित भएर कुराकानी भएको आयोग स्रोतले जनाएको छ।
छलफलमा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, अन्य आयुक्तहरू, सचिव र उच्च कर्मचारीहरू सहभागी थिए। प्रधानमन्त्री र गृहमन्त्रीले आयोगसँग समन्वय गर्दै नयाँ मतदाता नामावली संकलनका लागि आवश्यक अध्यादेशको मस्यौदाबारे पनि परामर्श गरेका छन्।
गृह मन्त्रालय स्रोतका अनुसार गृहमन्त्री अर्यालले अध्यादेशको प्रारम्भिक मस्यौदा तयार गरिसकेका छन्। उक्त मस्यौदा आयोगसँग समन्वय गरी चाँडै मन्त्रिपरिषद्मा लैजाने तयारी छ।
हालको कानुनअनुसार निर्वाचनको मिति घोषणा भएपछि नयाँ मतदाताहरूको नामावली समावेश गर्न पाइँदैन। सरकारले यही प्रावधानका कारण थुप्रै नयाँ मतदाता मतदान अधिकारबाट वञ्चित हुने स्थिति आउन सक्ने देखेर अध्यादेशमार्फत समाधान खोज्न लागिपरेको हो।
सरकारले कम्तीमा मंसिर महिनासम्म मतदाता नामावली संकलन खुला गर्ने तयारी गरेको छ। निर्वाचन सुनिश्चित गर्न समयमै तयारी गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै प्रक्रिया अघि बढाइएको बताइएको छ।