झापा— झापाको बिर्तामोड नगरपालिका–७ खालबारीमा गएराति एक युवकको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ। ३५ वर्षीय फुर्बा तामाङलाई आफ्नै घरमा खुकुरी र अन्य धारिला हतियार प्रयोग गरी मारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीका अनुसार घटनामा संलग्न रहेको आशंकामा सोही स्थानका प्रेमकुमार राई र रामकुमार राईलाई नियन्त्रणमा लिइएको छ। घटनास्थलबाट खुकुरी र बसिला समेत बरामद गरिएको जानकारी दिइएको छ।
हत्या घटनाको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी अधिकृतको नेतृत्वमा टोली खटिएको थियो। टोलीले घटनास्थलको परीक्षण तथा प्रमाण संकलनको काम अघि बढाएको छ।
प्रहरीले मृतकको कानुनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमका लागि मंगलबार बिहान करिब १० बजे प्रादेशिक अस्पताल, भद्रपुर पठाइएको जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।