बर्दिया— बर्दियाको गुलरिया नगरपालिका–२ संगमबस्तीका दुई किशोरी बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन्। गर्मी छल्न भन्दै सोमबार दिउँसो नदीमा गएकी १२ वर्षीया निशानी थापा र उनकै उमेरकी दुर्गा शाही डुबेर हराएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी देवेन्द्र मल्लका अनुसार छ जना साथीहरू नुहाउन गएका थिए। त्यही क्रममा पहिलो पटक निशानी थापा डुब्न थालिन्। उनलाई जोगाउन दुर्गा शाही नदीमा पसेकी थिइन्। तर, गहिरो भागमा पुगेकाले दुबै जना बेपत्ता बनेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

“डुब्ने घटना भएपछि अन्य साथीहरूले चिच्याएपछि स्थानीय र प्रहरीलाई खबर भएको हो,” डिएसपी मल्लले जानकारी दिए। उनका अनुसार सोमबारदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासी मिलेर खोजी कार्य सुरु गरिएको छ। मंगलबार बिहानैदेखि रबरबोट प्रयोग गरेर खोजी कार्य जारी राखिएको छ।