दैलेख— डुङ्गेश्वर गाउँपालिकाका लेखा प्रमुख टङ्कबहादुर कार्की घुस लिएको अभियोगमा रु १ लाख नगदसहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्णाली प्रदेश कार्यालयको टोलीले उनलाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९, मङ्गलगढी चोकबाट आइतबार राति नियन्त्रणमा लिएको हो।

कार्की गाउँपालिकाको सातौँ तहका वरिष्ठ लेखा अधिकृत हुन्। उनलाई सडक स्तरोन्नति तथा निर्माण सम्पन्नको अन्तिम भुक्तानी प्रक्रियामा सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा पक्राउ गरिएको अख्तियारको केन्द्रीय कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

पक्राउ परेपछि कार्कीमाथि आवश्यक अनुसन्धान प्रक्रिया सुरु गरिएको आयोगले जनाएको छ।