सिरहा— चालु आर्थिक वर्ष सुरु भएको दुई महिनासम्म पनि सिरहाका छ वटा पालिकाले अझै आफ्नो बैंक खाता सञ्चालनमा ल्याउन सकेका छैनन्। यसले कर्मचारी तलब, भत्ता, र विकास निर्माणजस्ता महत्वपूर्ण काममा असर पुर्याएको छ।
जिल्लाका १७ मध्ये ११ वटा पालिकाले मात्रै हालसम्म खाता सञ्चालनमा ल्याएका कोष तथा लेखा नियन्त्रक कार्यालय सिरहाका सूचना अधिकारी दीपेशकुमार शर्माले बताए। बाँकी ६ पालिकाले भने कानुनी प्रक्रिया पूरा गर्न नसकेकाले खाता खोल्न सकेका छैनन्।
खाता बन्द रहेका पालिकाहरूमाः धनगढीमाई नगरपालिका, सुखीपुर नगरपालिका, सिरहा नगरपालिका, भगवानपुर गाउँपालिका, विष्णुपुर गाउँपालिका, रबरियारपट्टी गाउँपालिका रहेका छन् ।
शर्मालेका अनुसार, बैंक खाता सञ्चालन गर्न पालिकाले वार्षिक नीति, कार्यक्रम र बजेट गाउँसभा वा नगरसभाबाट पारित गरेर बुझाउनुपर्छ। साथै, पालिका प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिक अधिकार दिनुपर्छ। यी कानुनी प्रक्रिया पूरा नगरी खाता खोल्न पाइँदैन।
खाता नखुल्दा कर्मचारी तलब ढिलो भएको, भत्ता रोकिने अवस्था आएको छ, र विकास निर्माणका कामहरू पनि ठप्प रहेका उनको भनाइ छ।
अहिलेसम्म खाता सञ्चालनमा आएका सखुवानन्कारकट्टी, नवराजपुर, लक्ष्मीपुर पतारी, अर्नमा, औरही, नरहा, लहान नगरपालिका, गोलबजार, कल्याणपुर, कर्जन्हा र मिर्चैया गरी ११ पालिकाहरू रहेका छन् ।
यस वर्षको बजेट खर्च गर्न ढिलो हुन थालेकाले सम्बन्धित पालिकाहरूले चाँडोभन्दा चाँडो कानुनी प्रक्रिया पूरा गरेर खाता सञ्चालन गर्न आवश्यक देखिएको छ।