दाङ— सेवाग्राहीको चाप नहुँदा दाङ जिल्लाका पाँचवटा अतिरिक्त हुलाक कार्यालय बन्द गरिएको छ। उक्त कार्यालयहरू बन्द गर्ने निर्णय सेवा उपयोगमा आएको गिरावटका कारण गरिएको हुलाक निर्देशनालय दाङका अधिकृत शोभाराम बस्नेतले जानकारी दिए ।
बन्द गरिएका हुलाक कार्यालयहरूमा तुलसीपुर–१३ फूलबारी, तुलसीपुर–१८ बेलझुण्डी, तुलसीपुर–४ हलवार, बबई गाउँपालिकाको पुरन्धारा, र दङ्गीशरण गाउँपालिकाको गोल्टाकुरी रहेका छन्।
'अहिले अतिरिक्त हुलाक कार्यालयको काम शून्यप्रायः बनेको छ,' अधिकृत बस्नेतले बताए, 'केही बैंकका चिठीबाहेक अन्य कुनै पत्र–पत्रिका आउन छाडेका छन्।'
उनका अनुसार पछिल्लो समय सेवाग्राहीको संख्या नघटेर ‘शून्यजस्तै’ भएपछि कार्यालय बन्द गर्नुपर्ने अवस्था आएको हो।
अवकाश लिएका अतिरिक्त हुलाक कर्मचारीहरूको पद स्वतः खारेज हुने कानुनी व्यवस्था रहेकाले पनि ती कार्यालयहरू क्रमशः बन्द हुँदै गएका हुन्। यसअघि कार्यालय बन्द गर्ने प्रक्रियामा केही विरोध भएपछि अब कर्मचारीले आफ्नो सेवा अवधि पूरा गरेपछि मात्र पद खारेज गरिने नीति अपनाइएको छ।
बन्द गरिएका अतिरिक्त हुलाक कार्यालयहरूमा हुलाक प्रतिनिधि, डाँक वाहक, वितरण कर्मचारीजस्ता पदहरू थिए, जसले दैनिक कम्तीमा दुई घण्टा सेवा प्रदान गर्नुपर्ने व्यवस्था थियो।
हाल दाङ जिल्लामा २५ वटा अतिरिक्त हुलाक कार्यालय सञ्चालनमा छन् भने ५ वटा इलाका हुलाक कार्यालय क्रियाशील छन्।