काठमाडौं— चाडपर्वको अवसरमा दशैँ मनाउन राजधानी काठमाडौंबाट पछिल्लो पाँच दिनमा झण्डै १ लाख ९० हजार यात्रु बाहिरिएका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज १ गतेदेखि ५ गतेसम्म २९ हजार ३६० सार्वजनिक सवारीमार्फत १ लाख ८९ हजार २१८ यात्रु उपत्यका बाहिर गएका हुन्।

कार्यालयका प्रहरी नायब उपरीक्षक लोकेन्द्रसिंह गुरुले राजधानीमा अध्ययन, रोजगारी, वा व्यापार व्यवसायका लागि आएका नागरिक चाडपर्व मनाउन घर फर्किन थालेको जानकारी दिए। उनका अनुसार थानकोट, साँगा, दक्षिणकाली र बालाजु नाका हुँदै यात्रुहरू विभिन्न गन्तव्यतर्फ गएका छन्।

यसैबीच, बर्खे पहिरो र सडकको खराब अवस्थाले यात्रुहरूको यात्रामा असर पारेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमका अनुसार पहिरोका कारण विशेषगरी मुग्लिङ–नारायणघाट सडकखण्डमा सवारी रोकिनु परेको छ । समयमै बस नपुग्दा यात्रुहरू गन्तव्यसम्म जान नसक्ने स्थिति बनाएको छ।

“घन्टौँसम्म बसहरू बाटोमै रोकिन बाध्य छन्,” गौतमले भने, “सरकारले राजमार्ग छिटो खुलाउन गम्भीर ध्यान दिनुपर्छ।”

दसैं नजिकिँदै जाँदा यात्रु चाप राजधानीका बसपार्कहरूमा उल्लेखनीय रूपमा बढेको छ। विशेष गरी गोङ्गबुको नयाँ बसपार्कमा दैनिक १५ हजारभन्दा बढी यात्रु घर फर्किन थालेको लोत्से बहुउद्देश्यीय प्रालिका मानव संसाधन प्रमुख पङ्कज मल्लले जानकारी दिए। उनका अनुसार सामान्य दिनमा ४–५ हजार यात्रु मात्र बसपार्कबाट बाहिरिने गरेका थिए।