काठमाडौं— न्युयोर्कस्थित कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स (सिपिजे) ले इजरायलले यसै महिनाको सुरुवातमा यमनमा गरेका हवाई आक्रमणबाट ३१ जना पत्रकारको मृत्यु भएको जनाएको छ । यो गत १६ वर्षयताको पत्रकारमाथिको सबैभन्दा घातक हमला भएको समितिले जनाएको छ ।
समितिका अनुसार सेप्टेम्बर १० मा इजरायली आक्रमणले यमनको राजधानी साना स्थित दुई पत्रिका २६ सेप्टेम्बर र अल–यमनका कार्यालय भवनलाई लक्षित गरी आक्रमण गरेको थियो । उक्त घटनामा ३१ जना पत्रकारको मृत्यु हुनुका साथै कम्तीमा २२ जना घाइते भएका थिए ।
२६ सेप्टेम्बर का प्रधान सम्पादक नासेर अल–खद्रीले भनेका छन्, “हाम्रो समाचार कक्षमा बेलुकी करिब ४ः४५ बजे प्रहार गरिएको थियो, जब सम्पूर्ण स्टाफ साप्ताहिक अंक प्रकाशनको तयारीमा व्यस्त थिए । यो पत्रकारमाथिको अभूतपूर्व नरसंहार हो, जुन क्रूर र नाइन्साफीपूर्ण छ ।”
सीपीजेका तथ्याङ्कअनुसार, यो घटनामा पत्रकारहरूको मृत्यु २००९ मा फिलिपिन्सको म्यागुइन्दानाओमा भएको नरसंहारपछि सबैभन्दा ठूलो हो । उक्त घटनामा ३२ जना पत्रकारहरुको मृत्यु भएको थियो ।
इजरायलले भने आफ्ना प्रहारहरू हौथी समूहको जनसम्पर्क विभागसहितका सैन्य लक्ष्यहरूमा गरिएको दाबी गरेको छ । तर सीपीजेले इजरायलले गाजा, लेबनान र इरानमा जस्तै पत्रकार र सैन्य लक्ष्यबीच भेद नगरी आक्रमण गर्ने गरेको र पत्रकारलाई आतङ्कवादी भनेर अन्यायपूर्ण आरोप लगाउने गरेको आरोप लगाएको छ ।
गत वर्ष अक्टोबरमा इजरायल–हमास युद्ध पुनः शुरु भएपछि हौथी विद्रोहीहरूले इजरायलसम्बन्धी जहाजहरूलाई रातो सागर र अदन खाडीमा आक्रमण गर्ने तथा क्षेप्यास्त्र र ड्रोनमार्फत इजरायललाई निशाना बनाउने गरेका छन् । त्यसको जवाफमा इजरायलले यमनका हौथी नियन्त्रणमा रहेका क्षेत्रमा बारम्बार हवाई आक्रमण गर्दै आएको छ ।